काठमाडौं । नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.२८ प्रतिशतले घटेर ४४०.२५ विन्दुमा आइपुगेको छ। नेप्से घट्दा कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ।
यसदिन ३१९ स्क्रिप्सको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार ६९३ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन आइतबार ९ अर्ब माथिको सेयर कारोबार भएको थियो।
यसदिन चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल माइक्रो इन्स्योरेन्स,ओम मेघाश्री फरमाक्युटिल्स,सिटीजन्स सुपर ३० म्युचुअल र क्रेष्ट माइक्रो लाइफको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मकर जितुमाया सूरी हाइड्रोपावरको सेय ९.३० प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा राधी विद्युत शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७६ करोड ५८ लाख मल्य बराबरको सेयर कारोबार भयो। नगदी ग्रुप पावरले ५५ करोडको सेयर कारोबार गर्दा सानिमा माइ हाइड्रोपावरको ४८ करोड,युनिभर्सल पावरको ४७ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलमेन्टक ३७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
तीन समूहको उपसूचक बढ्दा १० वटा समूहको उपसूचक नकारात्मक देखिएका छन् । माइक्रोफाइनान्स,म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्सबाहेक अन्यको उपसूचक राताम्मे देखिएका हुन्। कारोबारमा आएकामध्ये ८६ स्टक्सको मूल्य बढ्दा १५९ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो।