काठमाडौं । लमजुङमा छोराले बाबुको हत्या गरेका छन् । सोमबार मर्स्याङ्दी गाउँपालिका–४, कालाघिरिङ निवासी २३ बर्षीय छोरा लु बहादुर गुरुङले ५७ बर्षीय बाबु नर बहादुर गुरुङको हत्या गरेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर छोराले कालाघिरिङको ठूलोढुङ्गास्थित आफ्नै गाई गोठमा बस्दै आएका बाबुलाई चिर्पट दाउरा र बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
मंगलबार बिहान घट्नास्थल पुगेको प्रहरीले मृतकको शरीरको टाउको, अनुहार समेतको भागमा गम्भिर घाउचोट लागी रगताम्य भएको र पेटमा निलडाम रहेको अवस्थामा नर बहादुरको शव फेला पारेको थियो ।
प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमा रगत लागेको चिर्पट दाउरा, काठको लौरो र बन्चरो समेत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।