काठमाडौं । सर्वोच्च अदालतले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । लामिछानेका तर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले उनलाई थुनामुक्त गर्न नमिल्ने आदेश सुनाएको हो ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् ।
सुप्रिम सहकारीसम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च अदालतले त्यतिबेला जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो । गैरकानुनी रूपमा थुनामा राखेको भन्दै लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पाैडेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।