काठमाडौं । आफ्नै रेकर्ड ब्रेक गर्दै आरोही कामीरिता शेर्पाले आज शुक्रबार ३१औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले बिहान चार बजे ३१ औँ पटक सगरमाथाको आरोहण गरेका हुन् ।
गतवर्ष ३० औँ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका उनले आज आफ्नै रेकर्डलाई ब्रेक गरेका हुन् । उनले गत वर्ष १० दिनकै फरकमा दुईपटक सगरमाथा आरोहण गरेका थिए।
‘एभरेस्ट म्यानले फेरि गर्यो चमत्कार ! ३१ औँ पटक सगरमाथा आरोहण,’ सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औँ पटकको सफल आरोहणका लागि बधाई !’
सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।