काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन्। बिहीबार ल्याएको बजेटबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अर्थ मन्त्रालयले कार्ययोजनाको काम आजैबाट सुरू गर्ने बताए।
आगामी आवमा पुँजीगत खर्च बढाइएको उनले जानकारी दिए। त्यसैगरी राजस्व लक्ष्यको १७ प्रतिशत निर्धारण गरिएकोले जसरी पनि लक्ष्य हासिल गरिने उनको दाबी छ।
‘आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५.३ प्रतिशत उठाउने गरी लक्ष्य राखिएको छ’, अर्थमन्त्री पौडेलले भने, ‘विकास आयोजनामा वैकल्पिक वित्तबाट गर्ने प्रतिबद्धता गरिएको छ। स्वदेशी र विदेशी लगानीबाट पूर्वाधार निर्माण गरिनछ।’
३ करोडको मापदण्डभित्र रहेर बजेट विनियोजन गरिएको पनि उनले उल्लेख गरे। ‘३ करोड तलका आयोजना ल्याइएको छैन’, उनले थपे, ‘आयोजना निर्माणका लागि खरिद प्रक्रियाको लागि साउन १ गते कुर्नु पर्दैन।’ निजी क्षेत्र उत्साहित हुने गरी बजेट ल्याइएको उनको भनाइ छ। मन्त्री पौडेलले बिहीबार १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरेका थिए।