काठमाडौं । काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।उनी महानरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका बेला मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
परियारसहित महानगरका तत्कालीन निर्देशकहरु रविन्द्रमान श्रेष्ठ, युवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । सातैजना प्रतिवादीलाई अख्तियारले जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी गरिएको छ ।
महानगरपालिकाको सामाखुसी करिडोरअन्तर्गत बसुन्धारादेखि म्हेपीसम्म ढल निर्माणसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले अनुसन्धान गरेको थियो । जसमा सबैभन्दा कम अंकमा कबोल गरेका ठेकेदारलाई अयोग्य ठहर गरी बढी अंक कबोल गरी ठेक्का लगाएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
यसरी मिलेमतोमा सार्वजनिक संस्थाको सम्पत्ति हानिनोक्सानी गरेकोमा महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । महानगरको कार्यकारीबाट सरुवा भएर परियार त्यसपछि सूचना तथा प्रसारण विभागमा गएका थिए ।