काठमाडौं । वैदेशिक रोजगार विभागले सहायक श्रमिक (केयरगिभर) को रूपमा इजरायल रोजगारमा छनोट भएका ६६ नेपालीलाई करार सम्झौताका लागि सम्पर्कमा आउन सूचना जारी गरेको छ।
इरानसँगको युद्धका कारण रोकिएको प्रक्रिया पुनः सुरु गर्दै, इजरायलले ६६ नेपालीलाई रोजगार सम्झौतापत्र पठाएपछि विभागले भिसा र अन्य प्रक्रियाका लागि सम्पर्क गर्न आग्रह गरेको हो। विभागले क्रमसंख्या १ देखि ३३ सम्मका उम्मेदवारलाई असार २० र ३४ देखि ६६ सम्मका उम्मेदवारलाई असार २२ मा काठमाडौंमा उपस्थित हुन सूचित गरेको छ।
इजरायली दूतावासको कन्सुलर डिभिजनमा भिसा प्रक्रियाका लागि सम्पर्क आवश्यक रहेको विभागले जनाएको छ। महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार, युद्धको त्रास कम भएपछि करार सम्झौता प्रक्रिया पुनः अघि बढेको हो।
पहिलो चरणमा ६०० महिला र ४०० पुरुष गरी एक हजार जनाको स्वास्थ्य परीक्षण गर्दा ९२३ जनाले सफलता हासिल गरेका थिए र उनीहरू इजरायल जान पर्खाइमा छन्।