काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति आज शुक्रबार दिउँसो साढे १ बजे सार्वजनिक गर्ने भएको छ। मौद्रिक नीति राष्ट्र बैंकको बालुवाटारस्थित नयाँ भवनबाट सार्वजनिक गरिनेछ।
यो नीति गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको नेतृत्वमा आएको पहिलो मौद्रिक नीति हो। गभर्नर पौडेलले बिहीबार राष्ट्र बैंकको व्यवस्थापन समितिमा नीति प्रस्तावमाथि छलफल गराएका थिए। सोही छलफलपछि राष्ट्र बैंकको सञ्चालक समितिबाट नीति पारित भइसकेको छ।
आज सार्वजनिक हुन लागेको मौद्रिक नीतिलाई समग्र आर्थिक क्षेत्र, बैंक तथा वित्तीय संस्था, उद्योगी व्यवसायी तथा सेयर बजारका लगानीकर्ताले चासोका साथ हेरेका छन्।
मुख्य अपेक्षाः उदार र व्यवसायमैत्री नीति
देशको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै मौद्रिक नीति उदार हुने संकेत दिइएको छ। विशेषतः सुस्त अर्थतन्त्रलाई गति दिन र निजी क्षेत्रको लगानी बढाउन केन्द्रित नीति आउने अपेक्षा गरिएको छ।
मौद्रिक नीतिमा निम्न विषयवस्तु समेटिने सम्भावना छ:
कार्यशील पूँजी कर्जा विस्तार
ब्याज तथा जरिवानामा सहुलियत
समस्यामा परेका उद्योगी व्यवसायीलाई राहत
लघुवित्त ऋणीलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था
सेयर बजारमा लगानी खुकुलो बनाउने नीति
घरजग्गा कर्जामा लचिलोपन (जस्तै, Loan to Value रेसियोमा परिवर्तन)
यसका साथै, मौद्रिक नीतिले आगामी वर्षको बजेटमा गरिएको घोषणा—जस्तै, एसेट म्यानेजमेन्ट कम्पनी र डिजिटल बैंक स्थापनाको कार्यान्वयनका लागि आवश्यक मौद्रिक प्रावधान पनि समेट्ने अपेक्षा गरिएको छ।
गभर्नर पौडेलले मौद्रिक नीति समयमै ल्याउनुपर्नेमा जोड दिएका थिए। उनी कार्यभार सम्हालेपछि तत्कालै नीति तयारी तीव्र बनाउँदै समन्वय बैठकसमेत राखेका थिए।
अब हेर्न बाँकी छ, गभर्नर पौडेलको यो पहिलो मौद्रिक नीतिले सुस्त अर्थतन्त्रलाई कुन हदसम्म गति दिन सक्छ।