काठमाडौं । ‘मिस नेपाल २०२६’ प्रतियोगिताका लागि आवेदन प्रक्रिया सुरु गरिएको छ। आयोजक संस्था ‘द हिडन ट्रेजर’ले इच्छुक सहभागीले आगामी एक महिनाभित्र आवेदन दिन सक्ने जनाएको छ ।
संस्थाका निर्देशक प्रमोद कंसाकारका अनुसार यस वर्ष पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी छनोट गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन चाहने आवेदकको उमेर १८ देखि २७ वर्षभित्र हुनुपर्ने व्यवस्था गरिएको छ। ३१ डिसेम्बर २०२६ सम्म २७ वर्ष ननाघेका तथा १ जनवरी २००० पछि जन्मिएका युवती मात्र योग्य मानिनेछन् ।
उचाइ कम्तीमा ५ फिट ३ इन्च (हिल बिना) हुनुपर्नेछ। त्यस्तै, आवेदक अविवाहित हुनुपर्ने र यसअघि विवाह नगरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
नेपाली नागरिकता वा नेपाली पासपोर्ट अनिवार्य गरिएको छ भने न्यूनतम शैक्षिक योग्यता प्लस टु वा सो सरह तोकिएको छ ।
आयोजकका अनुसार मिस वर्ल्ड संगठनले निर्धारण गरेका मापदण्डअनुसार शरीरमा स्थायी ट्याटु नभएको हुनुपर्ने सर्त पनि कायम राखिएको छ ।
गैरआवासीय नेपाली (एनआरएन) आवेदकका सन्दर्भमा सामान्य विदेशी राहदानी वा एनआरएन परिचयपत्र मात्र पर्याप्त नहुने स्पष्ट गरिएको छ । नयाँ संवैधानिक व्यवस्थाअनुसार जारी एनआरएन नागरिकता कार्ड भएका व्यक्तिले मात्रै आवेदन दिन पाउनेछन् ।

