फ्रान्समा जारी विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नेपाली अभिनेत्री अदिति बुढाथोकी सहभागी भएकी छन्। उनले सोमबार फेस्टिभलको रेड कार्पेटमा हिँडेको अनुभव र तस्बिरहरू सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी हुन्।
रेड कार्पेटमा उनी डिजाइनर शिवांगी प्रधानद्वारा तयार पारिएको गाउनमा सजिएर प्रस्तुत भएकी थिइन्। बुढाथोकी बीएमडब्लु गाडीको भारतीय प्रतिनिधिको रूपमा फेस्टिभलमा सहभागी भएकी हुन्।
तस्बिरहरू सार्वजनिक गर्दै उनले लेखेकी छन्, “पहिलो पटक कान्सको रेड कार्पेटमा हिँड्नु मेरा लागि अविश्वसनीय अनुभूति रह्यो। सुन्दर अनुभवका लागि बीएमडब्लु इन्डियालाई धन्यवाद।”
यस वर्षको कान्समा नेपाली फिल्मकर्मीहरूको उल्लेख्य उपस्थिति देखिएको छ। यही बिहीबार विश्व प्रिमियर हुन लागेको नेपाली फिल्म **‘एलिफेन्ट्स इन द फग’**का निर्देशक अविनाश विक्रम शाह सोमबार रेड कार्पेटमा सहभागी भएका थिए।
त्यसैगरी काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, अभिनेता प्रदीप खड्का, निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ, ‘एक्लो’ फिल्मका निर्देशक प्रदीप शाही तथा निर्माता अनुप पौडेल पनि फेस्टिभलमा सहभागी छन्।
नेपाल चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा कान्समा नेपाली फिल्म प्रवर्द्धनका लागि छुट्टै स्टल समेत राखिएको छ। फेस्टिभल मे २४ सम्म सञ्चालन हुनेछ।

