काठमाडौं। वर्तमान सरकार गठन भएको १०० दिनको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार विस्तार, आरोग्य पर्यटन प्रवर्द्धन, हवाई सेवा सुधार, सांस्कृतिक सम्पदा संरक्षण तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।
सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत उदयपुरको कोशी नदी आसपास, अछामको रामारोशन, बाजुराको बडिमालिका, अपी हिमाल तथा दोर्दी हिमाल ट्रेकिङ रुटलगायतका पर्यटकीय क्षेत्रको व्यवस्थित विकासका लागि विस्तृत कार्यान्वयन खाका तयार गरिएको मन्त्रालयले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यका अनुसार कोशी आसपासको चतरा र वराह क्षेत्रको धार्मिक तथा बहुआयामिक पर्यटन सम्भावनाको अध्ययन सम्पन्न भइसकेको छ। त्यस्तै अपी, सैपाल, बडिमालिका, रारा लगायतका क्षेत्रमा आवश्यक पर्यटकीय पूर्वाधार विकासको विस्तृत योजना तयार पारिएको उनले बताए।
आरोग्य पर्यटन रणनीति कार्यान्वयनमा
सरकारले नेपाललाई आरोग्य पर्यटन (वेलनेस टुरिज्म) को अन्तर्राष्ट्रिय गन्तव्य बनाउने लक्ष्यसहित तयार गरेको आरोग्य पर्यटन रणनीति मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ।
सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर २०२७’ का रूपमा मनाउने तयारी थालेको छ। योग, ध्यान, प्राकृतिक चिकित्सा, पदयात्रा तथा पूर्वीय दर्शनलाई समेटेर आरोग्य पर्यटन विस्तार गरिने मन्त्रालयले जनाएको छ। यसबाट विदेशी पर्यटकको बसाइ अवधि बढ्ने र पर्यटन आयमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
विमानस्थल सेवामा सुधार
सरकारले नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थलमा विद्युतीय सटल बस सञ्चालनमा ल्याएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थलमा सरसफाइ सुधार, स्तनपान कक्ष, ज्येष्ठ नागरिक तथा अशक्त यात्रु सहायता सेवा र बिरामी हेरचाह कक्षको व्यवस्था गरिएको छ।
त्यसैगरी सबै आन्तरिक वायुसेवा कम्पनीका टिकट एयरलाइन्सको वेबसाइट, इसेवालगायत डिजिटल माध्यमबाट सहज रूपमा बिक्री हुने व्यवस्था मिलाइएको छ।
युरोप उडान प्रतिबन्ध हटाउने पहल
नेपाली वायुसेवा कम्पनीमाथि युरोपियन युनियनले लगाएको उडान प्रतिबन्ध हटाउन आवश्यक Corrective Action Plan तयार गरी सम्बन्धित निकायमा पठाइएको मन्त्रालयले जनाएको छ। साथै हवाई सुरक्षा सुधारका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ। फ्लाई दुबईले सन् २०२६ को सेप्टेम्बरदेखि नियमित उडान सञ्चालन गर्ने गरी समर तथा विन्टर दुवै सिजनको उडान तालिका स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ।
पर्वतारोहण र पर्यटन सेवा डिजिटल
पर्वतारोहण अनुमति, सलामी दस्तुरलगायतका विवरण Central Information System मार्फत रियल टाइममा हेर्न सकिने व्यवस्था गरिएको छ।
पर्यटन विभागबाट हुने करिब ८० प्रतिशत सेवा डिजिटल माध्यमबाट सञ्चालन भइरहेको र आगामी आर्थिक वर्षदेखि शतप्रतिशत डिजिटल सेवा प्रवाह गर्ने तयारी पूरा भएको मन्त्रालयले जनाएको छ। साथै रोयल्टी, शुल्क तथा जरिवानासम्बन्धी सूचना एसएमएस र डिजिटल एपमार्फत समयमै उपलब्ध गराउने व्यवस्था पनि सुरु गरिनेछ।
सम्पदा संरक्षण र पशुपति क्षेत्रमा सुधार
मन्त्रालयले पाँच वटा अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरण गरेको छ भने सङ्ग्रहालयसम्बन्धी राष्ट्रिय मापदण्ड–२०८३ स्वीकृत गरिएको छ।
पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा दैनिक सरसफाइ, बगैँचाको सौन्दर्यीकरण, निःशुल्क खानेपानी, शौचालय व्यवस्थापन तथा पर्यटक सहायता कक्ष सञ्चालनलाई प्रभावकारी बनाएको जनाएको छ। साथै भेटी व्यवस्थापनलाई पारदर्शी बनाउन दैनिक संकलन विवरण वेबसाइट, फेसबुक तथा डिस्प्ले बोर्डमार्फत सार्वजनिक गर्न थालिएको छ।
यस अवधिमा पशुपति क्षेत्रभित्र अतिक्रमणमा परेका १३ स्थान खाली गराई संरक्षण तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
रोयल्टी राजस्वमा ३६ प्रतिशत वृद्धि
मन्त्रालयका अनुसार होटल, क्यासिनो तथा पर्वतारोहणबाट प्राप्त रोयल्टी राजस्व अघिल्लो वर्षको तुलनामा करिब ३६ प्रतिशतले वृद्धि भई हालसम्म करिब तीन अर्ब रुपैयाँ संकलन भएको छ।
सरकारले पर्यटन पूर्वाधार विस्तार, डिजिटल सेवा, आरोग्य पर्यटन, अन्तर्राष्ट्रिय उडान विस्तार तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई आगामी दिनमा पनि उच्च प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

