काठमाडौं । दसैँ, तिहार, छठलगायतका चाडपर्व नजिकिँदै गर्दा यात्रुको आवागमनलाई सुरक्षित, सहज र मर्यादित बनाउन संघीय संसदको पूर्वाधार विकास समितिले सरकार तथा सम्बन्धित निकायलाई ५ बुँदे निर्देशन दिएको छ।
मंगलबार बसेको समितिको बैठकले चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्थापन प्रभावकारी बनाउन पर्याप्त सवारीसाधन परिचालनदेखि टिकट बिक्री, भाडादर, यात्रु सहायता कक्ष, सवारीसाधनको प्राविधिक परीक्षण तथा राजमार्गका होटल र रेष्टुरेन्टको अनुगमनसम्मका विषयमा निर्देशन दिएको हो।
समितिले यात्रुको चापलाई ध्यानमा राख्दै पर्याप्त सवारीसाधन परिचालन गर्न भनेको छ। जथाभावी सवारी रोक्ने र यात्रु चढाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै निर्धारित बसपार्कबाट मात्र सवारी सञ्चालन गर्न, तोकिएको स्थानबाट टिकट बिक्री गर्न तथा सुरक्षित स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
यातायात सेवालाई अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामैत्री बनाउन र विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरी आवश्यक सहजीकरण गर्न पनि समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
त्यस्तै, चाडपर्वका समयमा हुने अत्यधिक यात्रु चाप र सम्भावित जोखिमको पूर्वमूल्याङ्कन गरी वैकल्पिक मार्गको तयारी गर्न समितिले भनेको छ। सवारीसाधनको अनिवार्य प्राविधिक परीक्षण, चालकलाई पर्याप्त विश्रामको व्यवस्था तथा सवारीसाधनको गति नियन्त्रणमा ध्यान दिन निर्देशन दिइएको छ।
क्षमताभन्दा बढी यात्रु राख्ने अर्थात् ओभरलोड गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न, एकीकृत बसपार्क नीतिको प्रभावकारी कार्यान्वयन गर्न र सम्बन्धित निकायबीच समन्वय कायम गर्नसमेत समितिले ध्यानाकर्षण गराएको छ।
हरेक वर्ष चाडपर्वका समयमा यात्रुले टिकट नपाउने तथा तोकिएकोभन्दा बढी भाडा तिर्नुपर्ने समस्या देखिँदै आएको भन्दै समितिले पूर्वाधार विकास मन्त्रालयलाई तत्काल कार्ययोजना बनाएर लागू गर्न निर्देशन दिएको छ। यात्रुले सहज रूपमा टिकट पाउने वातावरण बनाउन, तोकिएको भाडादर कार्यान्वयन गराउन र यात्रुका गुनासा सुनुवाइका लागि प्रभावकारी संयन्त्र निर्माण गर्न समितिले मन्त्रालयलाई भनेको छ।
लामो दूरीको यात्राका क्रममा राजमार्गका होटल तथा रेष्टुरेन्टले खाना, खाजा र पिउने पानीमा चर्को मूल्य असुल्ने तथा गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने समस्या रोक्न पनि समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। यात्रुले उपभोग गर्ने वस्तुको मूल्य र गुणस्तरमा कडा निगरानी राख्न समितिले भनेको छ।
यसैबीच, सार्वजनिक यातायातलाई थप व्यवस्थित र सरल बनाउन समितिले यसअघि असोज ५ गते गठन गरेको उपसमितिलाई पूर्णता दिएको छ। उपसमितिको सदस्यमा सांसद राजु नाथ पाण्डेलाई चयन गरिएको छ। उपसमितिले चाडपर्वका समयमा यातायात क्षेत्रमा देखिने समस्या तथा यात्रुले भोग्नुपर्ने कठिनाइको अनुगमन गरी समाधानका लागि काम गर्नेछ।
समितिले सरोकारवालाबाट प्राप्त सुझाव तथा रचनात्मक विचारलाई समेट्दै चाडपर्वको यात्रालाई कष्टरहित, सुरक्षित र व्यवस्थित बनाउन उक्त निर्णय गरिएको जनाएको छ।

