काठमाडौं । भोटेकोशी बाढीपछि भइरहेको खोज तथा उद्धार कार्यलाई अब खोज तथा पुनर्स्थापनाको चरणमा लैजाने निर्णय गरिएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले अत्यावश्यक स्थानमा खोजी कार्यलाई जारी राख्दै हालका लागि खोज तथा उद्धार (Search & Rescue) बाट खोज तथा पुनर्स्थापना (Search & Recovery) को कार्य अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज सम्पन्न बैठकले खोज तथा उद्धारमा खटिएका टोली र जिल्ला सुरक्षा समितिको सिफारिसलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।
बैठकले वेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना भएका स्थानीय तहले विवरण प्रमाणित गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उक्त विवरण प्रमाणित गरी प्राधिकरणमा पठाउने व्यवस्था गर्न भनेको छ।
बाढीमा परी वेपत्ता भएका नागरिकलाई मृतक वा मृतकसरह घोषणा गर्नेसम्बन्धी कानुनमा गर्नुपर्ने संशोधनका सम्बन्धमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले काम गरिरहेको बैठकले जनाएको छ।
बैठकले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार गठित समितिले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख भएका सम्भावित सुरक्षित स्थानमा विभिन्न साझेदार संस्थासमेत परिचालन गरी अस्थायी बसोबास (Transitional Shelter) निर्माण गर्ने निर्णय गरेको छ। यसको नेतृत्व पूर्वाधार विकास मन्त्रालयले गर्नेछ।
बैठकले भोटेकोशी बाढी तथा तत्पश्चातका मनसुनजन्य विपद्का घटनामा खोज, उद्धार तथा राहत वितरणका क्रममा खटिएका व्यक्ति, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था, जनसमुदाय, स्वयंसेवक, स्थानीय प्रशासन, सुरक्षाकर्मी, सञ्चारकर्मी र नागरिक समाजको उच्च प्रशंसा गर्दै धन्यवाद दिएको छ।
साथै, स्वदेश तथा विदेशबाट नगद तथा खोज, उद्धार एवं राहत सामग्री उपलब्ध गराउने र खोज तथा उद्धारसम्बन्धी विशेषज्ञ टोली पठाउने मित्रराष्ट्रहरूलाई समेत बैठकले धन्यवाद दिएको छ।

