काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिबारबाट ‘जनतासँग विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयबाट पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले अभियानको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए। शनिबार ७ हजार २ सय ४२ वडाहरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे भर्चुअलमाध्यमबाट एकैपटक उद्घाटन हुने पनि उनले जानकारी दिए।
अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८, हरिसिद्धीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्।
त्यस्तै, उपाध्यक्ष अग्नि सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका–२२ मा खटिनेछन्। यस्तै, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरी–२, शक्ति बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृका यादव वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा खटिने सापकोटाले जानकारी दिए।
त्यस्तै, सचिवमा दिनानाथ शर्मा बाग्लुङ, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, लीलामणि पोखरेल महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका–१० मा खटिने भएका छन्।
मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत जनताको ‘मन जितेर मत प्राप्त’ उद्देश्य राखेको छ।
गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरमा पु¥याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।