काठमाडौं । चीनले हालै जारी गरेको आफ्नो देशको नयाँ नक्सामा यसअघि नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई समेटेर सार्वजनिक गरेको नक्सालाई बेवास्ता गरेको भन्दै नेपालले पनि प्रतिक्रिया जनाएको छ ।
भारतलगायत केही देशले विरोध जनाउने गरी उत्तरी छिमेकीले ‘प्रचलित नक्सा’ जारी गरेको चार दिनपछि नेपालको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालको नक्सालाई सम्मान गर्न भनेको छ ।
परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले पारित गरेको राजनीतिक एवम् प्रशासकीय नक्साप्रति नेपाल स्पष्ट र दृढ रहेको छ । यो नक्सालाई हाम्रा छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्नेमा नेपाल सरकारको स्पष्ट विश्वास रहेको छ ।’ आफ्ना सीमा मामिलाहरूलाई वार्ता र कुटनीतिमार्फत समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।