काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतको पूर्ण इजलासमा सोमबार ‘हेर्दाहेर्दै’मा राखिएको छ।
सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाईमा वहश नसकिएपछि मंगलवारका लागि हेर्दाहेर्दैमा राखिएको हो।
सोमबार रिटमा निवेदक पक्षका कानुनव्यवसायीको सुनुवाई भएको थियो। नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोसी सरकार गठनलाई लिएर वैधानिकताको प्रश्न उठाउँदै रिट दायर गरेका थिए।
कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै कोशी प्रदेशसभाका एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दिएका थिए। रिट निवेदकका कानुनव्यवसायीको बहस सकिएपछि विपक्षी तर्फबाट बहस हुनेछ।