काठमाडौं । काठमाडौं उपत्यकामा नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’का क्रममा ७५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ६० जना पुरुष र १४ जना महिला रहेका छन्। अन्य एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति तथा सुव्यवस्था कायम गर्दै आपराधिक गतिविधिको रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी दिएका छन्।
प्रहरीले सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपासका क्षेत्र र नागरिकको बढी आवतजावत हुने स्थानलाई लक्षित गरी अभियान सञ्चालन गरेको जनाएको छ।
अभियानका क्रममा सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि सञ्चालन गर्ने तथा गुण्डागर्दीजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको आशङ्कामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैगरी, विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका आठ जना कसुरदार पक्राउ परेका छन्। अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। यसरी अदालतबाट सजाय तोकिएका र चालु मुद्दामा फरार रहेका गरी १२ जना पक्राउ परेका हुन्।
विशेषगरी सार्वजनिक यातायात, भीडभाड हुने स्थान तथा सेवाग्राहीको बढी उपस्थिति रहने क्षेत्रमा हुने चोरी, लुटपाट, दुर्व्यवहार, बिचौलियाको गतिविधि र गुण्डागर्दी नियन्त्रणलाई अभियानमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूको संलग्नता तथा उनीहरूमाथि लागेका आरोपका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

