इरानले अमेरिका–इजरायलको आक्रमणपछि क्षतिग्रस्त सैन्य क्षमता तीव्र रूपमा पुनर्निर्माण गर्न थालेको अमेरिकी गुप्तचर निकायको मूल्याङ्कनले देखाएको छ। अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अप्रिलको सुरुआतदेखि लागू भएको ६ साताको युद्धविराम अवधिमै इरानले केही ड्रोन उत्पादन पुनः सुरु गरिसकेको छ।
अमेरिकी गुप्तचर स्रोतहरूका अनुसार इरानले ड्रोन, मिसाइल प्रक्षेपण स्थल, लञ्चर तथा हतियार उत्पादन संरचना अपेक्षाभन्दा छिटो पुनःस्थापना गरिरहेको छ। केही मूल्याङ्कनले इरानले ६ महिनाभित्र आफ्नो ड्रोन आक्रमण क्षमता पूर्ण रूपमा पुनःस्थापित गर्न सक्ने उल्लेख गरेका छन्।
स्रोतहरूका अनुसार इरानलाई रूस र चीनबाट प्राप्त सहयोगले पुनर्निर्माण प्रक्रिया तीव्र भएको हो। चीनले मिसाइल निर्माणमा प्रयोग हुने सामग्री आपूर्ति जारी राखेको अमेरिकी गुप्तचर निकायको दाबी छ। यद्यपि चीनले उक्त आरोप अस्वीकार गरेको छ।
अमेरिकी मूल्याङ्कनले इरानका करिब दुई तिहाइ मिसाइल लञ्चर अझै सुरक्षित रहेको जनाएको छ। यसअघि आधा मात्र बाँकी रहेको अनुमान गरिएको थियो। युद्धविरामपछि इरानले भूमिगत संरचनाबाट लञ्चर निकाल्न सफल भएको स्रोतहरूको भनाइ छ।
इरानसँग अझै पनि ठूलो संख्यामा ड्रोन, ब्यालेस्टिक मिसाइल तथा हवाई प्रतिरक्षा क्षमता कायम रहेको बताइएको छ। विशेषगरी होर्मुज जलडमरू क्षेत्रमा प्रयोग हुने तटीय क्रुज मिसाइलहरू अधिकांश सुरक्षित रहेको अमेरिकी गुप्तचर रिपोर्टमा उल्लेख छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) प्रमुख एडमिरल ब्राड कुपरले भने इरानको रक्षा उद्योगको ९० प्रतिशत संरचना नष्ट भएको दाबी गरेका छन्। तर अमेरिकी गुप्तचर स्रोतहरूले उक्त दाबी वास्तविक अवस्थासँग मेल नखाने बताएका छन्।

