लमजुङ । लमजुङको राइनास नगरपालिका–६ फुलबारीमा ७५ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गत २३ साउन राति करिब ९ बजे आफ्नै घरको कोठामा काली सार्की घाँटी काटिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाको अनुसन्धानका क्रममा स्थानीय ४८ वर्षीय प्रेम अच्छामीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गाँजा खरिद गर्ने क्रममा पैसाको विषयमा मृतक काली सार्की र अच्छामीबीच विवाद भएको खुलेको छ। विवादका क्रममा अच्छामीले मृतककै घरमा रहेको हँसियाले घाँटी काटेर हत्या गरेको र मृतकले लगाएको सुनका गरगहना समेत चोरी गरी लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले अच्छामीलाई २५ साउनमा पक्राउ गरेको थियो। पक्राउ परेका अच्छामीलाई लमजुङ जिल्ला अदालतबाट २६ साउनमा पहिलोपटक पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

