काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिकाका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिन बाँकी रहेका विभिन्न वडामा विद्युत् विस्तारका लागि गाउँपालिकाले प्राधिकरणसँग छलफल गरेको छ।
गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको नेतृत्वमा असोज १४ गते वडा नम्बर ३, ५, ६ र ७ का अध्यक्षहरू क्रमशः आसवीर गुरुङ, गीतबहादुर गुरुङ, मनलाल गुरुङ र लक्षुमान गुरुङसहितको टोलीले नेपाल विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रका केन्द्र प्रमुख इन्जिनियर सुनिल पौडेलसँग भेट गरी विद्युत् विस्तारका विषयमा छलफल गरेको हो।
त्यसैगरी, असोज १५ गते गाउँपालिका अध्यक्ष गुरुङसहित वडा अध्यक्षहरूको टोलीले नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रादेशिक प्रमुख सुरज गौतमसँग भेट गरी गाउँपालिकाका विद्युत्सँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेको गाउँपालिकाले जनाएको छ।
छलफलका क्रममा गाउँपालिकाको वडा नम्बर ५ को सिङ्दी, वडा नम्बर ६ को पसगाउँ, वडा नम्बर ८ को घिचे तथा वडा नम्बर २ को ह्वासिमराङलगायत विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिन बाँकी क्षेत्रलाई विद्युत् सेवासँग जोड्ने विषयमा कुराकानी भएको थियो।
त्यस्तै, पाँचगाउँ सामुदायिक विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणमा जोडिएपछि विद्युत् सेवालाई थप भरपर्दो र विश्वसनीय बनाउने विषयमा समेत छलफल भएको छ।
पर्यटकीय क्षेत्र घलेगाउँ, भुजुङलगायतका क्षेत्रमा विद्युत् सेवा थप भरपर्दो बनाउन आवश्यक पूर्वाधार तथा सेवा सुधारका लागि गाउँपालिकाले प्राधिकरणसँग अनुरोध गरेको जनाएको छ।
छलफलमा नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङलगायत कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

