काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदा सार्वजनिक गरेको छ । मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचयोग्य बनाउन तथा मतदाता नामावलीमा थप शुद्धता कायम गर्न ‘स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मसौदा तयार पारिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार सरोकारवालाको सुझाव संकलन गर्न आयोगको वेबसाइटमार्फत मस्यौदा सार्वजनिक गरिएको छ । मस्यौदामा कुनै स्थानीय तहले आफ्नो केन्द्र वा वडास्तरबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत आयोगमा अनुरोध गरेमा स्थानीय तहको भौतिक स्रोतसाधन र जनशक्तिको अवस्था हेरी आयोगले अनुमति दिने व्यवस्था गरिएको छ । यसरी अनुमति प्राप्त गरेपछि सम्बन्धित स्थानीय तहको केन्द्र वा वडास्तरमै नाम दर्ता अधिकारी र दर्ता कर्मचारी तोकी मतदाता नामावली दर्ता कार्य सुरु हुने आयोगले जनाएको छ ।