काठमाडौं । जिल्ला प्रशासन कार्यालय लमजुङले डिजिटल गुनासो तथा सुझाव सेवा शुरु गरेको छ । कार्यालयको सेवा प्रवाहबारेमा सेवाग्राहिको प्रतिक्रिया लिन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन डिजिटल सुझाव तथा गुनासो सेवा शुरु गरीएको प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
सरकारी कार्यालयहरुमा सेवाग्राहिको गुनासो वा उजुरीका लागि अनिवार्य गुनासो पेटिका राखिएको भएपनि परम्परागत गुनासो पेटीकाहरुमा भने खासै गुनासो वा उजुरी नपरेपछि समयानुसार डिजिटल गुनासो तथा सुझाव संकलन तर्फ लागिएको लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए । सेवाग्राहिले आँफुले लिएको सेवाको प्रभावकारिता सम्वन्धी कार्यालयमा राखिएको क्युआर स्क्यान गरी निशुल्क प्रतिक्रिया दिन सक्ने प्रजिअ अधिकारीको भनाई छ ।
सेवाग्राहिले इन्टरनेटको सहायतामा मोबाईल मार्फत थोरै मिनेटमै आफ्नो प्रतिक्रिया र सुझाव राख्न सक्ने प्रजिअ अधिकारीले बताए । प्रशासन कार्यालयमा सवै सेवाग्राहिको पहुँच पुग्नेगरी क्युआर राखिएको र सेवाग्राहिले आफ्नो मोबाईल मार्फत उक्त क्युआर स्क्यान गरी त्यस भित्र रहेका बस्तुगत प्रश्नको प्रतिक्रिया सँगै विषयगत आफ्नो सुझाव राख्न सक्ने प्रजिअ अधिकारीको भनाई छ । सेवाग्राहिका सुझाव डिजिटल हुने भएकोले उक्त सुझावलाई नियमित समिक्षा गरी प्रशासन कार्यालयको सेवा प्रवाहलाई सहज र थप प्रभावकारी बनाईने प्रशासनले जनाएको छ ।