-राजेन्द्र राना-
संसारमा सायद त्यस्ता मानिस नहोलान्, जसलाई यात्रा मन पर्दैन । यात्रा मानव जीवनको आत्मा हो, जसले मानिसलाई नयाँ अनुभव, ज्ञान र दृष्टिकोण प्रदान गर्छ । कतिपय त यस्ता पनि हुन्छन्, जसले घुमफिरलाई केवल रमाइलो होइन, जीवनको एकमात्र लक्ष्य नै मानेका हुन्छन् । उनीहरूका लागि यात्रा भनेको संसार बुझ्ने, आफूलाई चिन्न सिक्ने र जीवनलाई नयाँ ढंगले हेर्ने माध्यम हो।
यात्राको क्रममा भेटिने विविध संस्कृति, भाषा, रहनसहन र प्राकृतिक दृश्यहरूले मानिसलाई अझ सहिष्णु, जिज्ञासु र खुलेआम सोच्ने बनाउँछ । पहाड, नदी, ताल, जंगल वा सहरका गल्लीहरू जुन हरेक ठाउँमा कुनै न कुनै कथा लुकेको हुन्छ । ती कथाहरूले हाम्रो मनमा नयाँ ऊर्जा र प्रेरणा जागाउँछन्।

यात्रा केवल भौतिक दूरी तय गर्ने माध्यम होइन, यो मानसिक रूपान्तरणको पनि यात्रा हो । थकाइ, चुनौती र अनिश्चितताबीच पनि यात्रा मानिसलाई धैर्यता र आत्मबल सिकाउँछ । यही कारणले, विश्वका सबै सभ्यताहरूमा यात्रालाई विशेष स्थान दिइएको छ ।
यहि ध्येयलाई आत्मसाथ गर्दै हामी पनि एउटा यात्रामा निस्कियौं ।
२०८२ असोज २९ गते, काठमाडौंबाट पोखरा हुँदै म र प्रिय दाजु दिपेन्द्र पुन प्रकृतिले भरिएको डोल्पा जाने निधो गर्यौं । बागलुङ हुँदै बुर्तिवाङमा बास बस्यौं । काठमाडौंबाट आएको डोल्पा जाने बसमा बिहान ५ बजे चढ्यौं र डोल्पा लाग्यौं। गाडीभित्र भरिभराउ मान्छे, कोही घुम्न हिँडेका, कोही तिहार मनाउन गाउँ आएका । हामी पनि त्यही गाडीमा उभिएर भिर–पाखा, खोल्चा, कच्ची डर लाग्दा बाटो पार गर्दै आँखा बन्द गरेर रुकुम हुँदै दल्ली, जाजरकोट पुग्यौं र बास बस्यौं ।

भोलिपल्ट बाइक लिएर दाजुभाइ ठुली भेरी खोला किनारै–किनारको बाटो–कतै खोला तर्दै, कतै झोलुङ्गे पुल पार गर्दै, बीच–बीचमा ठुली भेरीमा पौडी खेल्दै साँझपख दुनै अर्थात् डोल्पा जिल्लाको सदरमुकाम पुग्यौं ।
हाम्रो मित्र प्रिय दाजु (सर) भक्तबहादुर बुढा मगरज्यूले नमस्ते होटलमा हामीलाई बास बसाल्नुभयो । दुनै शहर सुन्दर, सफा, सोच्छ हावाले स्वागत गरिरहेको जस्तो लाग्दै थियो,‘वाउ फिल’ भइरहेको थियो । दुनैका खोलाको सुसाइले हामी धेरै हर्षित भयौं ।

खोला बगरकै साइडमा हामी खोलाको सुसाइ सुन्दै रातभरि झ्याल खोलेर सुत्यौं। भोलिपल्ट बिहानै उठेर गन्तव्यमा पुग्ने हतार थियो । त्यसैले बिहान ५ बजे उठ्यौं, तयार भयौं र ६ बजे तीन भाइ भक्त दाजु, दिपेन्द्र दाजु र म दुनैलाई पछि भेट्ने वाचा गरेर सुलिगाड हुँदै फोक्सुण्डो तालको पदमार्ग सुरु गर्यौं । तालमा पुग्न शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्र पार गर्नुपर्ने रहेछ ।

ठुली भेरी र फोक्सुण्डो खोलाको संगम, कञ्चन पानी, वरिपरि भीमकाय पहाडले सुलिगाडलाई सुन्दर बनाएको रहेछ । फोक्सुण्डो खोलाको किनार हुँदै हामी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय पुग्यौं । राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नेपाली नागरिकले १०० रुपैयाँ, सार्क देशका पर्यटकले १५ सय र अन्य देशका नागरिकले ३ हजार रुपैयाँ तिर्नुपर्ने रहेछ । शुल्क तिरेर प्रवेश अनुमति लिएर सुलिगाडको तिरैतिर खोलाको सुसाइमा नाच्दै, गाउँदै, सुसेली हाल्दै हामी कागनी पुग्यौं ।
त्यहाँ हामीले बिहानको नास्ता अर्गानिक फापर र कोदाको रोटी खायौं र गन्तव्यतिर लाग्यौं । खोलाको आवाजले मन आनन्दित पाथ्र्यो । बाटो तेर्सो भएकाले हिँड्न गाह्रो थिएन । मनमा, मुटुमा तालको तस्बिर झल्किँदा खुट्टा आफैं छिटो–छिटो अगाडि बढ्थे। फोटो खिच्न क्यामराले नै भनिरहेको थियो, ‘राजेन्द्र, यति सुन्दर प्रकृति तिमीले भोलि बिर्सन सक्छौ, फोटो खिच !’ अनि मैले पनि नाइँ नभनी अनगिन्ती फोटो र भिडियो खिचेर मनमा सजाएँ ।

ताल पुग्न निकुञ्जभित्र कहिले खोलाको वारी त कहिले पारि हुँदै उकालो लाग्नुपथ्र्यो । भौगोलिक विकटता भएपनि खोलाको सुसाहट र प्राकृतिक सुन्दरता पदयात्रालाई रोमाञ्चक बनाउँथ्यो । किनारै किनार जंगल र पखेरो पार गर्दै हामी छेप्का पुग्यौं। त्यहाँ खाना खाएर केही बेर आराम गरेर फेरि अघि बढ्यौं। जंगल, भिर, पाखा, किनारको यात्रा पछाडि पार गर्दै हामी यार्ची हुँदै साँझपख तापरिचा पुग्यौं ।
तापरिचामा भक्त दाजुको साथी तेजेन्द्र गुरुङ सरको हिमालयन सुइट होटलमा बास बस्यौं। अर्गानिक खाना आहा! कति मिठो, शब्दमा बयानै गर्न गाह्रो। धन्यवाद तेजेन्द्र सर हजुरको माया, स्नेह, सत्कार, केयर, आत्मीयता कति मिठो! म्याडम र त्यो क्युट बाबु सम्झँदा अझै मनमा रहन्छ। थकित शरीरलाई विश्राम दिएर भोलिपल्ट बिहानै फापरको रोटी, अचार र त्यो चिया आहा! कति स्वादिलो र तागतिलो। त्यस चियाले उकालोमा ठुलो साथ दिएको थियो।

तापरिचामा आम्ची अस्पताल र शे–स्वास्थ्य फोक्सुण्डो चौकी पनि रहेछ, जसले लेक लागेका बिरामीलाई राहत दिन्थ्यो। तापरिचा विद्यालय टासी डी नामक संस्थाले सन् १९९८ देखि व्यवस्थापन गर्दै आएको रहेछ। झोला हामीले त्यही होटेलमा छोड्यौं र बेलुका फर्किने गरी बिहान ७ बजे उठेर यात्रा तय गर्यौं।
त्यहाँबाट सुलिगाड खोला झोलुङ्गे पुल तरेपछि पुलाम हुँदै उकालो यात्रा सुरु भयो। लामो उकालोपछि फोक्सुण्डो तालबाट झरेको झर्ना आँखाले देख्दा सारा थकान भुलियो। अलिकति भिरसँगै पार गरेपछि प्रकृतिसँग लुकामारी खेल्दै हिँड्दा रिङ्ग्मो गाउँ पुगियो। विशाल फोक्सुण्डो ताल पुग्दा दिउँसोको ११ः३० बजिसकेको थियो।
‘आहा ! कस्तो राम्रो मौसम खुलेको ! सारा थकाइ हरायो। यस्तो सुन्दरता देख्दा त…’ काठमाडौंदेखि फोक्सुण्डो ताल पुग्दा सारा हिँडाइ भुलिएछ। बादल कतै देखिँदैन, मौसम स्वच्छ । हामीले तालको आडैमा रहेको भ्यू होटलमा झोला बिसायौं। त्यहाँबाट फोक्सुण्डो ताल आँखामा पर्दा स्वर्गको भान हुन्थ्यो ‘वाउ! वाउ! वाउ ! ’
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण यही फोक्सुण्डो ताल रहेछ। ३६११.५ मिटर उचाइमा अवस्थित यो नेपालको सबैभन्दा गहिरो र ठूलो ताल हो। यो तालले आफ्नो रङ परिवर्तन गरिरहन्छ । यसभित्र रहेको अल्गी, झारपात र खनिज पदार्थको हलचलका कारण यसो हुने अनुमान गरिएको छ। यस तालमा कुनै जलचर पाइँदैन रे।
यो क्षेत्र यसको सुन्दर वनस्पति, जीवजन्तु र आकर्षणका कारण ट्रेकिङ गन्तव्यको रूपमा परिचित छ। यहाँ व्यक्तिगत पदयात्रा रिग्मो वा फोक्सुण्डो तालसम्म मात्र अनुमति छ भने भित्री–डोल्पो क्षेत्रमा बन्देज लगाइएको छ; त्यहाँ सामूहिक पदयात्रा मात्र अनुमति छ।

यो ताल मान्छेको फोक्सो आकारको भएकाले यसलाई ‘फोक्सुण्डो’ भनिएको रहेछ । ताल पुग्ने उपयुक्त समय असोज–कात्तिक नै रहेछ । यहाँको सफा, स्वच्छ, सुन्दर र शान्त वातावरणले मन लोभ्याउँछ। छिनछिनमा रूप बदल्ने तालको पानीले निकै आनन्द दिन्थ्यो।
‘यहाँ आइपुग्ने जो कोही पर्यटक म जस्तै खुसी हुन्छन् होला। यति आनन्द लाग्यो कि लामो दूरी पार गरेर आउँदा छुट्टै मज्जा आयो,’ भन्ने भावना मनमा आइरह्यो। यो ताल धर्तीको अनुपम र सुन्दर उपहार हो, जीवनमा एकपटक पुग्नैपर्ने स्वर्गको टुक्रा जस्तो लाग्यो।

भौगोलिक विकटता भए पनि प्राकृतिक सुन्दरता र जैविक विविधताले नै पर्यटक शे–फोक्सुण्डो आइपुग्ने गर्छन्। हामी खाना खाएर फोक्सुण्डो छेउबाट माथि दुई घण्टामा भ्यू–पोइन्ट पुग्यौं।
त्यहाँबाट ‘थ’ आकारको ताल र त्यसको रंगसँगै नाच्दै, गाउँदै, फोटो–भिडियो खिच्दै, हाँस्दै रमायौं। फोक्सुण्डो तालको पानीमा खुट्टा डुबाएर रमाउँदै आँखा नझिम्काई हेरिरहन मन लाग्ने, जति हेरे पनि नथाक्ने त्यो ताललाई हामीले साँझ ४ बजे मन नलागी–नलागी छोडेर फर्कन बाध्य भयौं। मलाई साथ दिने भक्त बुढा मगर, शेरबहादुर पुन तथा दिपेन्द्र दाजु सबैमा विशेष धन्यवाद एवं नमन ।


