काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सोमबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए।
आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार, दक्ष र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।
पछिल्ला वर्षहरूमा प्रतिष्ठानले उल्लेख्य प्रगति गरेको आफूले महशुस गरेको भन्दै उनले नवप्रवर्तनमा आधारित अध्ययन, अनुसन्धान र आविस्कारमा समेत प्रतिष्ठानले गम्भीरतापूर्वक पहल लिने विश्वास व्यक्त गरे।