काठमाडौं । फिल्म ‘महाजात्रा’ काे गीत ‘मुरी मुरी साथी’ युट्युबमा सार्वजनिक भएकाे छ । सार्वजनिक गीतमा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बिचको मित्रतालाई देखाइएको छ । फिल्ममा उनीहरूबिच शृंखलावद्ध रूपमा आउने उतारचढावसँगै झाँगिएको मित्रतालाई प्रस्तुत गरिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए ।
गीतमा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत छ । हर्क साउदको शब्द, कालीप्रसाद बाँस्कोटाको स्वर तथा सङ्गीत गीतमा छ ।
फिल्मको विषयवस्तु तीन पात्रकै वरिपरि घुमेको छ । आपत्कालीन रूपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङ्घर्ष देखाइएको फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।