काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणालीमा हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली–२०८० तथा प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा उहाँले सो निर्देशन दिएका हुन् ।
दुवै प्रहरी सङ्गठनको नियमावलीमै बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने गृहमन्त्री लामिछानेले बताए ।
गृहमन्त्री लामिछानेले अरूले बहालमा रहँदा के गरे त्यता नफर्किन आग्रह गरे । उनले आफू कार्यरत रहँदा विधि र प्रणालीमा जोड दिने भएकाले अनुहार हेरेर बढुवा गर्ने विद्यमान अभ्यासको अन्त्य अनिवार्य भएको उल्लेख गरे । केही समयअघि प्रहरी उपरीक्षक र बुधबार भएको प्रहरी नायब उपरीक्षकको बढुवा सिफारिसका क्रममा प्राप्त प्रतिक्रियाका आधारमा उनले यस्तो निर्देशन दिएका हुन् ।
