काठमाडौं । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा आफूले दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् । अदालतमा विचाराधीन मुद्दामा आफुहरुले बोलेर गल्ती गरेको भन्दै क्षमा मागेका हुन् ।
एक कार्यक्रमका लागि अस्ट्रेलियामा रहेका मह जोडीले भिडियो सन्देश जारी गर्दै अदालतमा विचाराधीन मुद्दामा बोलेर गम्भीर गल्ती गरेको भन्दै दर्शक सामु क्षमा याचना गरेका छन् ।
श्रेष्ठ र आचार्यले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको पक्राउलाई प्रेस स्वतन्त्रतासँग जोडेका थिए । तर सामाजिक सञ्जाल प्रयोगकर्ता कतिपयले भने अदालती प्रकृया अनुसार सिरोहिया पक्राउ परेको विषयलाई प्रेस स्तन्त्रासँग जोडेको र अदालतमा विचाराधीन मुद्दामा आरोपीको वचाउ गरेको भन्दै दिग्गज कलाकारहरु श्रेष्ठ र आचार्यमाथि आक्रोश पोखेका थिए ।
मह जोडीले अदालतमा विचारधीन मुद्दाका विषयमा दिएको अभिव्यक्ति दिँदा आफूहरूबाट त्रुटि भएको स्वीकार गर्दै भनेका छन्
‘अस्तिनै हामी एउटा क्याफैमा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधी विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ,’ मदनकृष्णले भिडियोमा भनेका छन्, ‘एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।’