काठमाडौं । धुनिबेँशी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ। तीनवटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुनसक्ने आशङ्कामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो।
झन्डै दुई सय मिटर माथिबाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको थियो। दुईवटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशङ्का रहेकाले पहिरोले थुप्रिएको माटोसमेत पुनः पन्छाएर खोजी गरिएको र पहिरोमा कुनै पनि सवारी साधन फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए।