काठमाडौं । भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान ३ बजे बस र इलेक्ट्रिक माइक्रोबस आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका अनुसार माइक्रो बसका चालकको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको नामथर वतन अझै नखुलेको प्रहरीले बताएको छ ।
मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् ।
मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ। माइक्रो बस चालकसहित तीन पुरुष र एक महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।
दुर्घटनापछि उपचारका लागि लगिएका उनीहरू सबैको मृत्यु भरतपुर अस्पतालमा भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
ज्यान गुमाउने र घाइते सबै माइक्रोबसका यात्रुहरू हुन् ।