काठमाडौं । चिति सेवा समाजले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । ‘रगत अभावमा कसैलाई ज्यान गुमाउन नदिने संकल्प गरौं’भन्ने नाराका साथ आयोजित रक्तदान कार्यक्रममा करिब १ सय ३५ जनाको सहभागिता रहेको थियो ।
सामाखुसीस्थित सिटी स्क्वाएरको प्राङ्गणमा भएको कार्यक्रम समाजका अध्यक्ष गोपाल बहादुर कमलीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संयोजन उपसचिव दिपक बाबु बरालले गरेका थिए ।
उक्त रक्तदान कार्यक्रममा दिपक पन्त, रामकुमार श्रेष्ठ, सूर्यकला भण्डारी, बिपिन बराललगायत ३० जना रक्तदाताहरुले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई अध्यक्ष कमली र संयोजक बरालले प्रमाण–पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा चिति सेवा समाजका उपाध्यक्ष श्यामसुन्दर श्रेष्ठलगायत समाजका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।