काठमाडौं । निजामती कर्मचारी सङ्गठनहरूको संयुक्त ट्रेड युनियनले ११ बुँदे मागसहित राज्य व्यवस्था तथा सुशासन समितिलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार सिंहदरबारमा उनीहरूले कर्मचारीका आधारभूत मागहरूलाई सम्बोधन गर्दै तत्काल सङ्घीय निजामती सेवा ऐन ल्याउन माग गर्दै समिति सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझ्दै सभापति खतिवडाले राज्यको स्रोत र साधनले भ्याएसम्म कर्मचारीहरूका सुविधाहरूलाई व्यवस्थित गर्नेगरी कानुन ल्याइने प्रतिबद्धता व्यक्त गरे । उनले वर्तमान व्यवस्था र संविधान निर्माणमा कर्मचारीहरूको उल्लेखनीय भूमिका रहेको बताउँदै यसको संरक्षण अझ महत्त्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे । उनले कर्मचारीहरूको हितमा गर्न सकिने काम गर्ने विश्वास समेत दिलाए ।