काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ । यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारवाही हुने मन्त्रालयले चेतावनी दिएको छ ।
साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आइतबार राजधानीमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।