काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनको लागि स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूको छुट्टाछुट्टै मतपत्र हुने भएको छ।निर्वाचन आयोगले मतपत्र छपाइ सकेर ढुवानीको काम भइरहेको प्रवक्ता नीता पोखरेल अर्यालको भनाइ छ।
उनकाअनुसार यसपालि प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरूको छुट्टाछुट्टै मतपत्र छपाइ भएको छ। ‘पहिले एउटै मतपत्रमा वडाध्यक्षको पनि समावेश हुन्थ्यो। यसपालि सबै वडाहरूको पनि चुनाव नहुने भएकाले छुट्टाछुट्टै मतपत्र प्रकाशन गरेका छौं,’ उनले भनिन्, ‘ढुवानी पनि भोलिसम्म सकिन्छ।’ यस्तै मतदान गर्न पनि छुट्टाछुट्टै बाकस राखिनेछ।
उपनिर्वाचनका लागि दुई लाख २६ हजार ७९९ मतदाता छन्। मतदातालाई पुग्ने गरी मतपत्र प्रकाशन गरिएको उनले जानकारी दिइन्।