काठमाडौं । राँगाको मासु चीन निर्यात गर्ने विषयमा सम्झौता भएको छ। हिमालयन फूड इन्टरनेशनल प्रालि नेपाल र साङ्घाइ जि याङ फूड कर्पोरेसन चीनबीच आज राजधानीमा आयोजित कार्यक्रममा सम्झौता भएको हो।
सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा यो सम्झौता कोशेढुंगा हुने बताए।
प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको स्मरण गराउँदै उनले यो सम्झौताले नेपाली किसानलाई राँगाभैंसी पालनमा थप प्रोत्साहन मिल्ने बताए।
नेपालको हावापानी र विविध भौगोलिक बनोट पशुपालनका लागि उत्कृष्ट रहेको उनको भनाइ थियो। नेपालमा रागाँभैंसीपालन समाजको अभिन्न अङ्गको रूपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित रहेको उनको भनाइ छ।
विगतको तुलनामा नेपालमा विकासको रफ्तार बढेको भन्दै उनले गाउँबेसीसम्म बाटोघाटोको पहुँच पुगेसँगै ग्रामीण क्षेत्रमा उत्पादन गरिएका दूध तथा मासुलाई बजार पुर्याउन सहज भएको बताए।