काठमाडौं । काठमाडौँ महानगरपालिका-९ एयरपोर्ट शम्भुमार्गस्थित सडक खण्डबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन्।
प्रहरी वृत्त गौशलाबाट मंगलबार खटिएको प्रहरी टोलीले अवैध रूपमा हुण्डी कारोबार भई रहेको भन्ने विशेष सूचनाका आधारमा प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको कार चेकजाँच गर्ने क्रममा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा बिर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी रहेका छन्।