काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि (मंगलबार) दुई दिन उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । साथै केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने पूर्वानुमान समेत छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’
मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँमा आज वर्षाको सम्भावना छैन । उनका अनुसार काठमाडौँमा आज बदली मात्र हुनेछ ।
काठमाडौंमा आज बिहान ५:४५ को न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस छ । दिउँसो १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमबाट पूर्वतर्फ सर्दै जाँदा भोलि भने काठमाडौंमा वर्षाको सम्भावना छ ।
मौसमविद् मानन्धर भन्छिन्, “हल्का वर्षा मात्रै हुने हो । ठूलो वर्षा कतै पनि हुने सम्भावना छैन ।”
उनका अनुसार बुधबारबाट मौसम क्रमिक रूपमा सफा हुँदै जानेछ । पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि मौसम सफा हुने उनको भनाइ छ ।
बादल, वर्षा, हिमपात तथा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।