काठमाडौं । लमजुङ प्रहरीले तीन महिनाको अवधिमा १ सय १२ नाल भरुवासहितको बन्दुक बरामद गरेको छ । संकलिक बन्दुक बुधबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनीक गरिएको छ ।
प्रहरीले सबैभन्दा बढी एकनाले भरुवा बन्दुक १ सय ७ नाल, १२ बोर एकनाले २, एकनाले ब्रिज लोडिङ राइफल, १२ बोर दुइनाले र २२ बोर हर्नेट बन्दुक १–१ नाल संकलन गरेको प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।
गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयले ५ वर्षसम्म नवीकरण नगरेका हतियार स्वतः अवैध हुने भन्दै जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । सोही सूचनाबमोजिम गत असोज १६ गतेदेखि पुस २३ सम्म सो संख्यामा बन्दुक संकलन भएको डीएसपी श्रीवास्तवले जानकारी दिए ।
प्रशासन कार्यालयबाट बरामद गर्नुपर्ने हतियारको संख्या ७ सय ६४ रहेकोमा १ सय १२ वटा प्राप्त भएको छ । ५ सय ४५ वटाको विवरण प्राप्त भएकोमा ४ सय ७० वटाकोमात्रै लगत प्राप्त भएको डीएसपी श्रीवास्तवले बताए । उनका अनुसार विवरण प्राप्त हुन बाँकी २ सय १९ वटा हतियारको थप खोजी भइरहेको छ ।
जिल्लामा १ हजार ५ सय बढीले विभिन्न समयमा हतियार लिएको रेकर्ड भएपनि तीमध्ये ३ सय जना हाराहारीले मात्रै नवीकरण गरेको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताए ।