काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्नेछ । संघीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सचिवालयका अनुसार शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् । बैठकमा दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची छ । बैठकमा विभिन्न ६ वटा अध्यादेश पेश हुँदैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ पेश गर्ने जनाइएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ पेश गर्ने कार्यसूची रहेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ पेश गर्नेछन् । बैठकमा सभामुखले विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा जनाइएको छ ।
यसैगरी, राष्ट्रिय सभाको बैठकमा उल्लेखित कार्यसूचीबाहेक मिडिया काउन्सिल विधेयक २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।