काठमाडौं । नेकपा (एमाले) ले पार्टी पदाधिकारीका लागि तोकिएको ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति बसेको सचिवालय बैठकले यो प्रस्ताव पारित गरेको हो।
सचिवालय बैठकमा उपाध्यक्ष विष्णु प्रसाद पौडेलले दोस्रो विधान महाधिवेशनका लागि पेश गरेको विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ अन्तर्गतको उमेर हद र कार्यकाल सम्बन्धी प्रावधान हटाउने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
प्रस्ताव शुक्रबार (साउन २ गते) बिहान ११ बजे बस्ने पोलिटब्युरो बैठकमा पेश गरिनेछ भने त्यसपछि साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ। उक्त प्रस्ताव आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनले पारित गरेपछि लागू हुनेछ।
बैठकले पदाधिकारीको संख्या १५ कायम गर्ने निर्णय पनि गरेको छ। यस्तै, पोलिटब्युरो ८४ सदस्यीय र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाइनेछ। पार्टी सदस्यतासम्बन्धी व्यवस्थामा पनि संशोधन प्रस्ताव गरिएको छ। उपमहासचिव ज्ञवालीका अनुसार, अब एमालेमा दुई प्रकारका सदस्य रहनेछन् – एक ‘सदस्य’ र अर्को ‘सङ्गठित सदस्य’।
यो प्रस्ताव कार्यान्वयनमा आएपछि पार्टी संरचना र नेतृत्व छनोटका मापदण्डमा महत्वपूर्ण परिवर्तन हुने देखिएको छ।

