काठमाडौं । लमजुङ बेसिशहरमा सञ्चालन भएका औषधि पसल (फार्मेसी) हरु मापदण्ड विपरित रहेको पाइएको छ । जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रममा अधिकांश औषधि पसलहरू मापदण्डविपरित रहेको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बेसिशहर ठाडो लाइन र शेराबजारमा रहेका औषधि पसलमा गरिएको अनुगमनमा फार्मेसी नै नपढेका व्यक्तिले औषधि बिक्री गरिरहेको पाइएको छ । यस्तै खाद्यपूरक सामग्री, औषधिका रूपमा दर्ता नै नभएका सामाग्री समेत बेचबिखन गरेको र इजाजत विना कम्प्युटर बिलिङ गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले बताए ।
जिल्ला प्रशासन कार्यालय, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, जिल्ला अस्पतालका चिकित्सक, करदाता सेवा कार्यालयका प्रमुख, बेसीशहर नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय, लमजुङ उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीसहितको अनुगमन टोलीले सोमबार विभिन्न १० वटा औषधि पसलको अनुगमन गरेको थियो ।
अनुगमन टोलीले औषधि पसलहरू दर्ता, नवीकरण भए नभएको, विल विजक, साइनबोर्ड, सरसफाइ, अनुमतिप्राप्त व्यक्तिबाट औषधि बिक्री वितरण भए नभएको तथा तोकिएको मापदण्ड अनुसार चले नचलेको विषयमा अनुगमन गरेको थियो ।