काठमाडौं । कोशी प्रदेश सभाको चालु छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त हुने भएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको जानकारी दिए ।
उनका अनुसार बैठकले कोसी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ स्वीकृत पनि गरेको छ । त्यस्तै समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ ।
यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रकम बाँडफाड गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि कोसी सरकारले गरेको छ ।