काठमाडौं । काठमाडौंबाट लमजुङ बेसिशहर जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेसिशहरबाट डुम्रेतर्फ आउँदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर तनहुँको कालिमाटिमा एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
डुम्रे–बेसिशहर सडक खण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका वडा नं. १० कालिमाटीमा भएको उक्त दुर्घटनामा लमजुङ बेसिशहरकी अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ भने स्कूटर चालक सुरेश श्रेष्ठ गम्भीर घाइते छन् । उनको श्रीमती थापाको घटनास्थलमै मृत्य भएको जनाइएको छ ।
माइक्रोमा सवार अर्का व्यक्ति मनाङ नासोङ गाउँपालिका वडा नं ८ का ४० वर्षीय मन घलेको उपचारका क्रममा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भोटेओडारले जानकारी दिएको छ । मृत्यु हुने मन घले काठमाडौंमा भइरहेको शिक्षक आन्दोलनमा सहभागी भएर घर फर्कदै थिए। उनी मनाङको नाँसो ताचैस्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।
माइक्रोबसमा सवार १७ जनामध्ये दुई जनालाई पोखरा र एक जनालाई चितवन रिफर गरिएको छ। अन्य ७ जनाको लमजुङको भोटेओडार अस्पतालमा उपचार पछि विभिन्न स्थानमा थप उपचारको लागि पठाइएको छ । माइक्रोबसका चालकलाई इलाका प्रहरी कार्यालय बाईसजागरले नियन्त्रणमा लिएको छ।