काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ ।
सीआईबीको टोलीले विभिन्न ११ जिल्लाबाट २१ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूले विदेशबाट प्राप्त विप्रेषण रकमलाई आन्तरिक विप्रेषणको नाममा अवैध कारोबार गरी नेपालमा ठूलो परिमाणमा रकम परिचालन गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा मोरङका वीरेन्द्रप्रसाद साह र दिपेन्द्रप्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो, धनुषाका नीरोजकुमार महतो, अलितादेवी महतो, प्रकाश सिंह र अरुण कुमार, पर्साका प्रदीपकुमार साह र धनुषाका संजीवकुमार महतो छन् ।
यस्तै, नवलपरासीका राजकमल लोनिया, भीमकुमारी गुरुङ, सप्तरीका रामविलास साह तेली र ममताकुमारी साह, पर्साका बिकर्ण जंग राणा, नवलपरासीका गणपती पाण्डे, वीरगंजका सलमा खातुन, सप्तरीका शुसिलाकुमारी काहु, चितवनका गोविन्दप्रसाद आचार्य र सप्तरकिा शम्भु मेहता पनि पक्राउ परेका छन् ।
संलग्न व्यक्तिहरूले भन्सार छली, सुनको अवैध कारोबार र कर छलजस्तै गतिविधि सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनीहरूले सजिलो पे र पेवेल नेपाल प्रालिजस्ता डिजिटल वालेट कम्पनीहरू प्रयोग गरी रकमलाई विभिन्न बैंक खातामा जम्मा गर्ने र त्यसपछि मनी ट्रान्सफर कम्पनीहरू मार्फत ई(मनी बनाई विदेशी कामदार तथा विद्यार्थीका आफन्तहरूको खातामा रकम ट्रान्सफर गर्ने गरेका थिए ।