काठमाडौं । त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा–नौबिसे खण्ड पर्सि वैशाख २२ गतेदेखि राति बन्द गरिने भएको छ । नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले शनिबार सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उनले जनाएका छन् ।
काठमाण्डुबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाण्डुतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ । आयोजनाले सीतापाइला–भीमढुंगा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
राति रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिनेछ । सूचनामा भनिएको छ, ‘रोकिएका समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएका अवस्थामा जथाभावी ओभरटेक नगर्न अनुरोध छ । साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’