काठमाडौं । कलाकार तथा निर्माता निर्मल शर्मा ‘गैंडा’ले आफूले खेलेको असफल फिल्मबाट पाउन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने घोषणा गरेका छन् । उनले बिहीबार फेसबुकमा एक पोस्ट गर्दै निर्माता बचाउन आफूले यो निर्णय लिएको जनाएका छन् ।
उनले लेखेका छन्, ‘म कलाकारिता रुचाउने सामान्य कलाकार, फिल्म क्षेत्रप्रतिको अगाध प्रेम र निर्माता पहिले सुरक्षित हुनुपर्छ अनि मात्र यो क्षेत्र चलायमान हुन्छ भन्ने मान्यता राख्छु । मैले कुनै महान काम त गरेको हैन तर हालसालै प्रदर्शन भएको आफूले पनि खेलेको फिल्मले नसोचेको असफलता पाएपछि निर्माताको ज्यादै माया लाग्यो । सम्झौता पत्र हातमै छ, लिन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने निर्णय गरेँ । मनले मानेन ।’
निर्मल शर्माको यो निर्णयको निर्देशकदेखि निर्मातासम्मले प्रशंसा गरेका छन् । ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामाले हरेक कलाकारलाई यस्तै बुद्धि आउनुपर्ने बताएका छन् । कलाकार कमलमणि नेपालले भने निर्माता आफैंले बानी विगारेको तर्क गरेका छन् । उनी लेख्छन्, ‘सुरुमा पैसा ठिक्क दिए हुँदैन । दिँदा भकारी नै भरिने गरी दिएपछि महादेवका त तीन नेत्र खुल्छ अरुका के ? बुझ्नु पर्ने चाहिँ निर्माताले नै हो ।’
त्यस्तै, कलाकार तथा निर्माता दीपकराज गिरीले निर्मल शर्माको निर्णयको प्रशंसा गर्दै यसरी कलाकारले पैसा नलिने निर्णय गरे वर्षमा ३ सय फिल्म बन्ने भन्दै व्यंग्य गरेका छन् । उनी लेख्छन्, ‘एकदम राम्रो हो । तर, यतिका फिल्म असफल हुँदा त वर्षको १५० फिल्म बन्दैछ । त्योमाथि कलाकारले असफल फिल्मको पैसा यसरी फिर्ता दिने हो भने त वर्षको ३०० वटा फिल्म बन्ला नि फेरि ।’