काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सोमबार अनिश्चितकालका लागि स्थगित गरिएको छ। सिंहदरबारमा बसेको बैठकमा शिक्षा मन्त्री रघुजी पन्तले थप छलफल आवश्यक भएको भन्दै विधेयक पारित नगर्न आग्रह गरेपछि समिति सभापति अम्मरबहादुर थापाले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।
शिक्षामन्त्री पन्तले परिस्थिति जटिल भएको उल्लेख गर्दै सरकारको सहमतिबिना विधेयक अघि बढाउन नहुने बताए। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि अहिले विधेयक पारित भए पार्टीलाई स्वीकार्य नहुने धारणा राखेपछि बैठक अघि नबढेको हो।
तर, बैठकमा माओवादी केन्द्रकी रेखा शर्मा, एमालेकी विद्या भट्टराई, रास्वपाकी सुमना श्रेष्ठलगायत सांसदहरूले समिति स्तरमा भएका सहमति अनुसार विधेयक पारित गर्नुपर्ने अडान राखेका थिए।
विधेयकमा अस्थायी, करार र राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट ६० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ४० प्रतिशत स्थायी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। तर, नेपाल शिक्षक महासंघले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुलाको माग राख्दै अडान कायमै राखेको छ।
विधेयकका केही व्यवस्थालाई लिएर सरकारभित्र र शिक्षक संगठनबीच मतभेद कायमै रहेकाले विधेयक प्रक्रिया फेरि अल्झिएको हो।