एजेन्सी । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युट्युबसहित सबै सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी र सञ्चारमन्त्री एनिका वेल्सले राजधानी क्यानबेरामा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत यो निर्णय सार्वजनिक गरेका हुन्।
सरकारले घोषणा गरेको नयाँ नियम आगामी डिसेम्बर १० तारिखदेखि लागू हुनेछ। यसअन्तर्गत युट्युब, टिकटक, फेसबुक, स्न्यापच्याट, एक्स (पूर्व ट्विटर) लगायत सबै सामाजिक सञ्जालमा १६ वर्षमुनिका बालबालिकालाई खाता खोल्न र सामग्री अपलोड गर्न रोक लगाइनेछ। यद्यपि, युट्युबमा बालमैत्री सामग्री हेर्न भने पाइनेछ।
सामाजिक सञ्जालले बालबालिकालाई सामाजिक, मानसिक र भावनात्मक रूपमा असर गरिरहेको जनाउँदै प्रधानमन्त्री अल्बानिजीले भने, “हामी अभिभावकहरूको साथमा छौँ, र आफ्ना बालबालिकाको सुरक्षाका लागि प्रतिबद्ध छौँ।” सञ्चारमन्त्री वेल्सले पनि बालबालिकालाई डिजिटल जोखिमबाट जोगाउने उद्देश्यले यस्तो निर्णय लिएको बताइन्।
यो नयाँ कानुनलाई ‘विश्वकै पहिलो एज–रेस्ट्रिक्टेड सोसल मिडिया प्लेटफर्म’ कानुन मानिएको छ। यसअन्तर्गत कम्पनीहरुले उमेर प्रमाणीकरण गरी १६ वर्षभन्दा मुनिका प्रयोगकर्तालाई खाता खोल्न नदिनुपर्ने व्यवस्था गरिएको छ। यदि कम्पनीले यो कानुनको उल्लंघन गरेमा ५ करोड अस्ट्रेलियन डलरसम्म जरिवाना तिर्नुपर्नेछ।
ई–सेफ्टी कमिस्नर जुली इन्मान ग्रान्टका अनुसार, हालै गरिएको एक सर्वेक्षणमा १० जनामध्ये ४ जना बालबालिकाले अनलाइनमार्फत हानिकारक सामग्रीको सामना गरेको देखिएको छ। ‘सेन्टर फर एक्सेलेन्स इन चाइल्ड एन्ड फ्यामिली सर्भिस’को रिपोर्ट अनुसार, गत वर्ष १३ देखि १५ वर्ष उमेरका ९५ प्रतिशत बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गरेका थिए भने ८ देखि १२ वर्षका १३ लाख बालबालिकामध्ये ३६ प्रतिशतको आफ्नै खाता रहेको पाइएको थियो।
सरकारको यो निर्णयले बालबालिका अनुकूल डिजिटल वातावरण निर्माणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। अनलाइन गेम, म्यासेज आदान–प्रदान, शिक्षा तथा स्वास्थ्यसम्बन्धी एपहरू भने यो प्रतिबन्धको दायरामा नपर्ने जनाइएको छ।