काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गर्ने निर्णय गरेको छ।
विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट दिइने भिजिटर पास मनमानी गरी लिने र पहुँच नभएका व्यक्तिले नपाउने समस्या बढेपछि यो निर्णय गरिएको हो। विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार साउन २७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत वितरण हुँदै आएको भिजिटर पासको वितरण बन्द गरिएको छ।’
विमानस्थलले व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती महिला र नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरेको जनाएको छ। साथै, ह्विलचेयर र विशेष सहयोग आवश्यक यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीमार्फत सहजिकरण भइरहेको महाप्रबन्धकले बताए।
सामान ‘चेक–इन’ सङ्ख्या र तौलको सीमा हवाई टिकटमा उल्लेख हुने भएकाले ती नियम पालना गर्न पनि अनुरोध गरिएको छ। यस निर्णयले विमानस्थल प्रवेश प्रक्रियामा सहजता र पारदर्शिता आउने अपेक्षा गरिएको छ।