काठमाडौं । शेयर बजारको विश्लेषण गर्ने नाममा सामाजिक सञ्जालमार्फत प्रचार गरिएको ‘नेप्से एआई’ नामक मोबाइल एप डाउनलोड गरेपछि करोडौँ रुपैयाँ बैंक खाताबाट गायब हुने घटनाको तथ्य सार्वजनिक भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (CIB) मा यस सम्बन्धमा उजुरीहरू दर्ता भएका छन्।
व्युरोका अनुसार, भ्रामक विज्ञापनमार्फत एप डाउनलोड गर्न प्रलोभन दिइएको थियो। एप डाउनलोड गरेपछि केही व्यक्तिहरूको बैंक खाताबाट ठूलो रकम कटौती भएको पाइएको छ। एक व्यक्तिको खाताबाट मात्रै २८ लाख ६१ हजार रुपैयाँ निकासा भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ।
फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालमा गरिएको विज्ञापनमार्फत पीडितहरूलाई लक्ष्य बनाइएको प्रहरीले जनाएको छ। यस घटनाले डिजिटल माध्यमबाट हुने ठगीको नयाँ रूप उजागर गरेको छ।
प्रहरीले अनधिकृत एपहरू प्रयोग नगर्न, आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्न, टु-फ्याक्टर अथेन्टिकेशन प्रयोग गर्न र पासवर्ड नियमित रूपमा परिवर्तन गर्न सुझाव दिएको छ। साथै, एनी डेस्क, टिम भ्युअरजस्ता रिमोट एक्सेस सफ्टवेयर अपरिचित व्यक्तिलाई नदिन चेतावनी जारी गरेको छ।
अनलाइन ठगीको यो नयाँ तरिकाले आर्थिक रूपमा कमजोर नागरिकलाई अझ बढी जोखिममा पार्ने प्रहरीको चेतावनी छ।