काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा उल्लिखित सुझावअनुसार मन्त्रालयले उपयुक्त कदम चाल्ने बताएका छन्।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “त्रिभुवन विश्वविद्यालयको जग्गा हड्पेर धेरै वर्षदेखि नाजायज फाइदा लिइएको अवस्था छ। समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कदम चाल्नेछ। मन्त्रालयबाट सल्टाउन नसकिने विषयको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइनेछ।”
उनले त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन अपूरो रहेको उल्लेख गर्दै अझै गहन छानबिनको आवश्यकता रहेको बताए। मन्त्री पुनले समितिको सिफारिसलाई नै टेकेर अर्को छानबिन समिति गठन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
साथै, उनले सुदूरपश्चिम विश्वविद्यालयको धेरै जग्गा हड्पेको सम्बन्धमा पनि मन्त्रालयमा उजुरी प्राप्त भएको र त्यसका लागि पनि छानबिन समिति गठन गरिने बताएका छन्।
मन्त्री पुनले शैक्षिक सुधारको विषयमा पनि जानकारी दिँदै बताए, “प्रविधिको विकासलाई मध्यनजर गर्दै, हाम्रा विद्यार्थी पछि नपरोस् भनेर माध्यमिक तहसम्म ‘कम्प्युटर’ विषयलाई एक सय पूर्णाङ्कको रूपमा थप गर्ने निर्णय गरिएको छ।”
यससँगै मन्त्री पुनले विश्वविद्यालयको जग्गा व्यवस्थापन र प्रविधिमा सुधारका लागि दुई दिशामा सक्रिय कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।